ढल्केबरमा विषादी विश्लेषण प्रयोगशाला सञ्चालन
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुस १० गते । धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा आएको छ। हरियो तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच गर्न यो प्रयोगशाला नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले स्थापना गरेको हो। मंगलबार जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन ठाकुर र केन्द्रीय कृषि प्रयोगशाला प्रमुख शान्ता कार्कीले एक औपचारिक कार्यक्रममार्फत प्रयोगशालाको उद्घाटन गरेका थिए। कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले यो प्रयोगशाला स्थानीय बजारका उपभोक्ता र व्यापारीलाई गुणस्तरीय तरकारी तथा फलफूल उपलब्ध गराउन महत्वपूर्ण हुने बताए।
केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख कार्कीका अनुसार, खेतबारीमा छर्किएको विषादीको सुरक्षित प्रयोगबारे किसानलाई जानकारी दिनु प्रयोगशालाको प्राथमिक उद्देश्य हो। उनले ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएको तरकारी तथा फलफूल खानयोग्य हुने, ३५ देखि ४५ प्रतिशत भए केही समय पर्खेर मात्र प्रयोग गर्नुपर्ने, र ४५ प्रतिशतभन्दा बढी भए अखाद्य मानिने बताए। प्रयोगशालाले दैनिक आठ/नौ नमुना परीक्षण गर्ने क्षमता राख्छ। सभापति ठाकुरले मापदण्डभन्दा बढी विषादी भेटिएमा ती उत्पादन नियन्त्रणमा लिएर नष्ट गरिनुपर्ने बताए। ढल्केबर बजार सस्तो मूल्यमा हरियो तरकारी तथा फलफूल पाइने ठाँउका रूपमा पहिचान गरिएको छ, जहाँ काठमाडौं, पोखरा, जनकपुरलगायत सहरका व्यापारीले नियमित खरिद गर्ने गर्छन्।
कमेन्ट गर्नुहोस्
view comments