सिरहामा झडप: प्रदेशसभा सदस्यसहित १८ जना घाइते

20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुस ९ गते । सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा सोमबार भएको झडपमा प्रदेशसभा सदस्य शाहिदा खातुनसहित १८ जना घाइते भएका छन्। झडपको कारण केही दिनअघि भएको हत्या घटनाको विषयमा स्थानीयवासी र खातुन पक्षबीचको विवाद रहेको जनाइएको छ। स्थानीयवासी छलफलका लागि भेला भएका बेला खातुनका भाइ मोहम्मद रहिमको समूहले कुटपिट सुरु गरेपछि झडपको अवस्था सिर्जना भएको हो। घाइतेमध्ये दुवै पक्षका नौ–नौ जना रहेको र उनीहरूको गोलबजारस्थित भुमिजा अस्पताल र वर्धमान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
गत कात्तिक २७ गते २० वर्षीय कृष्णकुमार महराको हत्या भएपछि स्थानीय तहमा विवाद चुलिएको थियो। हत्या घटनामा एक किशोरको नाम जोडिएको भन्दै प्रदेशसभा सदस्य खातुनले उक्त किशोरका परिवारलाई गाउँ छाड्न दबाब दिएको आरोप लागेको छ। यही विषयमा छलफल गर्न अभिभावकहरू भेला हुँदा खातुन पक्षले कुटपिट गरेको स्थानीय मोहम्मद सोवरथले आरोप लगाए। खातुनले भने आफूले कुनै दबाब नदिएको र हत्या घटनाको अनुसन्धान कानुनले गर्ने विषय भएको बताइन्। खातुनले यो घटनालाई आफूलाई बदनाम गर्न गरिएको प्रयास भएको दाबी गरिन्।
गाउँको मदरसाका अध्यक्षसमेत रहेका मोहम्मद सोवरथले मदरसामा आर्थिक हिनामिना गरेको विषयमा चासो देखाएपछि आफूलाई बदनाम गर्न प्रयास भएको बताए। खातुन पक्षले भने सोवरथलाई दोषारोपण गर्दै गाउँलेलाई धाकधम्की दिने गरेको आरोप लगाएको छ। प्रहरीले प्रदेशसभा सदस्य खातुनमाथि हातपात गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे दुवै पक्षको उजुरीका आधारमा कारबाही अघि बढाउने र थप अनुसन्धान जारी रहेको डीएसपी पासवानले जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?