जाजरकोट जीप दुर्घटनामा पाँच जनाको मृत्यु, दुई घाइते

11 दिन पहिले प्रकाशित

जाजरकोट, २७ मंसिर । जाजरकोटमा गएराति भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नलगाड नगरपालिका–५ कालिमाटीबाट नलगाड नगरपालिका–३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको जीप सडकबाट करिब सात सय मिटर तल खोलामा खसेको हो। दुर्घटनामा जीप चालक ३१ वर्षीय इन्द्रजित थापा, ६४ वर्षीया शिला पुन, ३२ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाका छोरा आलोचन रोकाको ज्यान गएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको उपचारपछि घर फर्किसकेको छ भने अर्का घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ। जीपको ब्रेक फेल भएपछि दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। दुर्घटनापछि स्थानीयबासी र सुरक्षाकर्मीको सहकार्यमा उद्धार गरिएको थियो। घटनाले जाजरकोट क्षेत्रमा सडक सुरक्षाको चिन्ता थप बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?