मधेसमा चिसोको कहर, किसान र सर्वसाधारण कष्टकर अवस्थामा
12 दिन पहिले प्रकाशित
जनकपुरधाम, मङ्सिर २५ गते । महोत्तरीसहित मधेसका जिल्लाहरूमा लगातारको चिसो सिरेटो र बाक्लो हुस्सुले जनजीवन प्रभावित बनाएको छ। मङ्सिर अन्तिम साताबाट मौसम चिसिँदै जाँदा दैनिक कामकाज थप कष्टकर भएको छ। खेतीपातीको मुख्य समय भए पनि कठ्याङ्ग्रिने चिसोका कारण किसानहरूलाई काम गर्न कठिन भएको छ। बर्दिबास-१३ का किसान ठकाइ महतोका अनुसार गहुँ छर्ने र उखु कटानको चटारो भए पनि चिसोले घरबाट निस्किन नसकेर काम अघि बढाउन सकिएको छैन।
चिसोको प्रभावले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरीहरू बढी प्रभावित बनेका छन्। महोत्तरीका ७५ वर्षीय किसान रहिमन मण्डलका अनुसार पुसमा देखिने हुस्सु केही वर्षयता मङ्सिरमै बढ्न थालेको छ। यसले पशुपालनमा पनि समस्या ल्याएको छ। घरपालुवा जनावरलाई चरनमा लैजान नसक्दा आहाराको जोहो गर्न गाह्रो भइरहेको छ। बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीप ठाकुरले चिसोले श्वासप्रश्वासका बिरामीलाई बढी असर गर्ने भन्दै स्याहारमा विशेष ध्यान दिन आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments