श्रीसीताराम विवाह पञ्चमी महोत्सव समापन: रामकलेवा सँगै गर्‍यो विदाई

15 दिन पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २२ गते । जनकपुरधाममा एक हप्तासम्म चलेको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको आज रामकलेवाको आयोजना गर्दै भव्य समापन गरिएको छ। जानकी मन्दिरको प्राङ्गणमा सजाइएको आकर्षक मञ्चमा भगवान् राम, लक्ष्मण, भरत, शत्रुघ्न लगायत भारतको अयोध्याबाट आएका जन्तीहरुलाई ५६ प्रकारका परिकार खुवाई विदाई गरिएको थियो। जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवको अगुवाइमा साधुसन्त र अन्य भक्तजनहरुलाई रामकलेवाको भोजन गराई उपहार र दक्षिणासहित सम्मानपूर्वक बिदाइ गरियो।

मिथिलाको सांस्कृतिक परम्पराअनुसार गीत, संगीत र मैथिली गालीसहित जन्तीहरुलाई बिदाइ गरिएको थियो। अयोध्याबाट आएका साधुसन्तहरुले भोजन, गीत र नृत्यमा रमाइलो गर्दै महोत्सवको आनन्द लिए। रामकलेवा हेर्न र सहभागी हुन ठूलो सङ्ख्यामा भक्तजनहरु जानकी मन्दिर परिसरमा उपस्थित थिए। यो सप्ताहव्यापी महोत्सव रामकलेवाको विदाईसँगै आज सम्पन्न भएको छ, र साधुसन्तहरु पुनः भारततर्फ प्रस्थान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?