विवाहपञ्चमी महोत्सवका लागि जनकपुरधाममा माछा, मासु र मदिरा बिक्रीमा रोक

18 दिन पहिले प्रकाशित

जनकपुरधाम, मंसिर १९ गते । जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको अवसरमा माछा, मासु र मदिरा बिक्री वितरणमा तीन दिनका लागि प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनाअनुसार मङ्सिर १९ गते राति १२ बजेदेखि मङ्सिर २२ गते राति १२ बजेसम्म जनकपुर नगरक्षेत्र र परिक्रमा क्षेत्रभित्र यी वस्तुहरूको बिक्री, उत्पादन तथा सेवन पूर्ण रूपमा निषेध गरिएको हो। प्रशासनले परम्परागत र धार्मिक महत्वलाई ध्यानमा राख्दै यस निर्णयलाई कार्यान्वयन गर्न स्थानीयवासीलाई आग्रह गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो। जनकपुर नगरदर्शनबाट सुरु भई मङ्सिर २२ गते रामकलेवाका साथ सम्पन्न हुने विवाहपञ्चमी महोत्सवमा धार्मिक अनुशासन कायम गर्न यो कदम उठाइएको बताइएको छ। साथै, मधेश प्रदेश सरकारले गढीमाई मेलाका लागि मङ्सिर २३ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?