जानकी मातालाई १०८ मिटरको चुनरी चढाइयो

19 दिन पहिले प्रकाशित

जनकपुरधाम, मंसिर १९ गते । जनकपुरधामको सीताराम गौशालाले १०८ मिटर लामो चुनरी जानकी मातालाई चढाएको छ। यो विशेष चुनरी सुरतस्थित जिनमाता ट्रष्टले उपलब्ध गराएको हो। सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा चुनरी मन्दिरमा चढाइँदा सयौँ भक्तजन सहभागी भएका थिए। मन्दिर पुग्नुअघि चुनरीलाई नगर परिक्रमा गराइएको थियो, जसक्रममा स्थानीयवासीले फूल वर्षाएर स्वागत गरेका थिए।

जानकी मन्दिरका पुजारी रामतपेश्वर दास वैष्णवका अनुसार यो चुनरी कार्यक्रमले विवाहपञ्चमी उत्सवको रौनकता झन् बढाएको छ। उनले रामजानकीको तिलक समारोहसँगै चुनरी चढाउने कार्यक्रमले भक्तजनमा थप उत्साह पैदा गरेको बताए। नगर परिक्रमा र मन्दिरमा विशेष पूजाका क्रममा भक्तजनको सहभागिताले धार्मिक महत्व झल्काएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?