वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को भ्रष्टाचार प्रकरण: प्रमुखसहित चारजना पक्राउको आदेश

27 दिन पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ११ गते । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रशासन प्रमुख जितेन्द्रकुमार यादवसहित चार जनालाई ठगी तथा किर्ते दस्तावेज प्रकरणमा जिल्ला अदालत धनुषाले पक्राउ गर्न आदेश दिएको छ। यादव, पूर्वनिर्देशक बलराम ठाकुर, लेखापाल सावित्री गिरी, र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरीमाथि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा जाहेरी दर्ता भएको थियो। धनुषा प्रहरीले ठगी र किर्ते प्रकरणमा मुछिएकाहरूमाथि अनुसन्धान गर्न अदालतले दिएको आदेशअनुसार छानबिन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

आरोपितहरूले किर्ते दस्तावेज र सहमति तयार गरी विभिन्न गाडी भाडा, मर्मतसम्बन्धी खर्चको नाममा रकम निकासा गरेको यादवले प्रहरीमा जाहेरी दिएका छन्। उनले आफ्ना नाममा किर्ते दस्तखत गरी सरकारी रकम हिनामिना गरेको प्रमाण प्रहरीलाई बुझाएका छन्। जाहेरीअनुसार, सरकारी कोषबाट महिन्द्रा स्कार्पियो गाडीको भाडा, मर्मत खर्च, र अन्य फर्जी दाबी गरी ठगी गरिएको थियो। यादवले आफ्नो नाममा सरकारी छाप र दस्तखत किर्ते गरी रकम दुरुपयोग गर्नेहरूको विरुद्ध कडा कानुनी कारबाहीको माग गरेका छन्। परिषद्भित्र अध्यक्ष शीतल साह र कर्मचारीहरूबीचको मनमुटावले संस्थाको दैनिक कामकाजमा समेत अवरोध सिर्जना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारम्बार छानबिन गरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?