भ्रष्टाचारमुक्त मधेश निर्माणको अभियान: मुख्यमन्त्री सिंहको प्रतिबद्धता
29 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर ९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले प्रदेश सरकार भ्रष्टाचारमुक्त मधेश निर्माणको लक्ष्यमा काम गरिरहेको बताउनुभएको छ। जनमत पार्टीको नगर कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा उहाँले प्रदेश सरकार सुशासनका लागि वेथिति र बिचौलियाको अन्त्य गर्न प्रयासरत रहेको स्पष्ट पार्नुभयो। उहाँले पूर्ववर्ती सरकारको आलोचना गर्दै, ८७ अर्बको बजेट अनियमितताका लागि दुरुपयोग भएको आरोप लगाउनुभयो। साथै, वर्तमान सरकारले ६४ वटै प्रदेशसभा क्षेत्रमा गौरवमय योजनाका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै, कार्यकर्ता पोषण गर्न गरिएको बजेट वितरणको पुरानो चलन अन्त्य भएको दाबी गर्नुभयो।
मुख्यमन्त्री सिंहले प्रत्येक स्थानीय तहमा समुचित बजेट उपलब्ध गराइएको जानकारी दिनुभयो। गाउँपालिकालाई ८५ लाख, नगरपालिकालाई एक करोड, उपमहानगरपालिकालाई एक करोड २५ लाख, र महानगरपालिकालाई एक करोड ७५ लाख बजेट वितरण गरिएको उहाँले बताउनुभयो। अवैध गिट्टी-बालुवा निकासी रोक्न प्रदेश सरकारले निर्देशन जारी गरेको र खुटी नहरमा सिँचाइका लागि आवश्यक संरचना निर्माणमा ध्यान दिइएको उहाँको भनाइ छ। कार्यक्रममा जनमत पार्टीका केन्द्रीय र स्थानीय नेताहरूले सिरहा जिल्लाका समस्या समाधानमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।
कमेन्ट गर्नुहोस्
view comments