विश्वकपकी नायिका पूजा महतोको जन्मथलोमा भव्य सम्मान

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ४ गते ।  नेपाललाई पहिलोपटक महिला यु–१९ टी–२० विश्वकपमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएकी कप्तान पूजा महतोलाई जन्मथलो गौशालामा शोभायात्रासहित सम्मान गरिएको छ। सोमबार आयोजित शोभायात्रा स्थानीय समाज, संघ–संस्था, खेलप्रेमी, र जनप्रतिनिधिहरूको उपस्थितिमा भव्यताका साथ सम्पन्न भयो। पूजा, जसको नेतृत्वमा नेपालले युएईलाई उसैको मैदानमा पराजित गर्दै इतिहास रच्यो, देशभर चर्चा पाएकी छन्। यस अवसरमा स्थानीयले पूजा र उनको उपलब्धिलाई उच्च सम्मान गर्दै शोभायात्रा र नगद पुरस्कार वितरण गरे।

सोमबार विहान ९ बजेदेखि इमली बजारबाट सुरु भएको शोभायात्राले गौशाला नगरपालिकाका १२ वटै वडाका मुख्य स्थलहरूको परिक्रमा गर्दै अपराह्नमा इमली बजारमै समापन गर्‍यो। शोभायात्रामा संघीय सांसद लक्ष्मी महतो, नगरप्रमुख दीपेन्द्र महतो, वडाध्यक्ष मुकेश महतो, र स्थानीय बौद्धिक वर्गदेखि सर्वसाधारणसम्मको सहभागीता थियो। पूजाको सम्मानले उनको जन्मथलोको चहलपहल बढाएको छ, जहाँ पूजाको उपलब्धिको चर्चा र सम्मान जारी छ। सम्मानपछि पूजा महतोले समाजले दिएको माया र प्रेरणाले आगामी एसीसी यु–१९ एसिया कप र विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने ऊर्जा मिलेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?