अयोध्यामा सम्पन्न तिलकोत्सव, राम-सीताको विवाह पञ्चमीको निमन्त्रणा

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ४ गते ।  त्रेता युगमा भगवान् राम र सीताको विवाहलाई स्मरण गर्दै जनकपुरधाममा मनाइने साताव्यापी विवाह पञ्चमी महोत्सवअन्तर्गतको तिलकोत्सव समारोह अयोध्याधाममा सम्पन्न भएको छ। सोमबार मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह र राम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव चम्पत रायको उपस्थितिमा उत्तर प्रदेशस्थित अयोध्याधाममा यो धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो। तिलकोत्सवलाई राम र सीताको विवाहसँग जोडिएको महत्त्वपूर्ण परम्परागत कार्यका रूपमा लिने गरिन्छ। नेपालबाट मुख्यमन्त्री सिंहको नेतृत्वमा विश्व हिन्दु परिषद् नेपालको टोली जनकपुरधामबाट तिलकोत्सवको कोसेली र निमन्त्रणा लिएर आइतबार अयोध्या पुगेको थियो।

समारोहका क्रममा मुख्यमन्त्री सिंहले जनकपुरधाममा हुने साताव्यापी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन राम जन्मभूमिका महासचिव चम्पत रायसहितलाई औपचारिक निमन्त्रणा दिनुभयो। उहाँले राम र सीताको विवाहले नेपाल र भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाएको बताउँदै यो सम्बन्धलाई अझ सुदृढ बनाउन महोत्सवमा सहभागिताको आह्वान गर्नुभयो। महासचिव रायले निमन्त्रणा स्वीकार गर्दै अयोध्याबाट जन्तीका रूपमा जनकपुरधाममा सहभागी हुने घोषणा गर्नुभयो। कार्यक्रममा नेपाल र भारतका उच्चस्तरीय प्रतिनिधिहरू, मन्त्रीहरू, जनप्रतिनिधि र धार्मिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?