दार्चुलामा जीप दुर्घटना: आठ जनाको ज्यान गयो, पाँच घाइते

1 महीना पहिले प्रकाशित

काठमाडौं, कात्तिक ३० गते । दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले घटनास्थलमा छ जनाको र उपचारको क्रममा थप दुई जनाको ज्यान गएको जानकारी दिए। ज्यान गुमाउनेमा शैल्यशिखर नगरपालिकाका दिलिप बिष्ट, मिना लेखक, विरेन्द्र रावल, शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिकाका विरेन्द्र बोहरा र सुदिप बोहरा तथा भारतको उत्तर प्रदेश विजनौरका मोहमद सफीर र मोहमद बसिर रहेका छन्।

दुर्घटनामा घाइते पाँच जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। शैल्यशिखर नगरपालिका–६ स्थित बकजेबलामा म १ ज ३३८ नम्बरको जीप दुर्घटनाग्रस्त भएको थियो। प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर राउतका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा जीप दुर्घटनामा परेको हो, तर दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?