भारतीय नागरिक पेस्तोल र गोलीसहित पक्राउ
जनकपुरधाम, कार्तिक १९ गते । रौतहटमा सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सोमबार बिहान २ बजे विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल बीओपी बेलाबिछवाका प्रमुख इन्स्पेक्टर चेतन कुमार खड्काको नेतृत्वमा गएको टोलीले राजदेवी नगरपालिका-९, ब्रहमपुरी गाउँस्थित सञ्जीव सिंहले सञ्चालन गरेको पसलमा चेकजाँच गर्दा शौचालय बाहिर अवैध पेस्तोल र गोली फेला परेको हो।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले गस्ती टोलीले पसलको शौचालय माथिबाट एकथान नलकटुवा पेस्तोल, ८ एमएमका तीन थान गोली र एक खोका बरामद गरेको जानकारी दिए। ४२ वर्षीय भारतीय नागरिक राजेश सिंहलाई अवैध हतियारसहित पक्राउ गरिएको एसपी हुमागाईंले बताए।
घटनाबारे थप अनुसन्धानको लागि आरोपी सिंहलाई बरामद पेस्तोल र गोलीसहित जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाउने तयारी गरिएको छ। प्रहरीले घटनाबारे गहिरो छानबिन जारी राखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments