छठ पर्वका लागि जनकपुरधाममा पाँच करोडको केरा आयात

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १९ गते ।  मधेश प्रदेशको राजधानी जनकपुरधाममा छठ पर्वको तयारीका लागि यो वर्ष पाँच करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वमा व्रतालुले भगवानलाई अर्घ अर्पण गर्दा केरालाई विशेष महत्त्व दिने परम्परा छ। जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार छठ पर्वमा केराको उच्च मागका कारण नेपालमा उत्पादित केरा पर्याप्त नहुने हुँदा भारतबाट केरा ल्याउनुपर्ने बाध्यता छ।

यो वर्ष करिब ८५ ट्रक केरा भारतबाट जनकपुरधाममा आयात गरिएको छ, जसमा गोपाल र वंशीभोग केरा नेपालका सप्तरी, भारदह, भान्टाबारी तथा इनरुवाबाट ल्याइएको हो भने मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतका आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाइएको छ। व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेका अनुसार छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै जाँदा माग पनि बढेको र यसै कारण गत वर्षको तुलनामा २५-३० ट्रक बढी केरा आयात गरिएको छ। मागअनुसार केराको मूल्यमा पनि वृद्धि भएको र यस वर्ष करिब २० प्रतिशतले मूल्य बढेको जानकारी दिइएको छ।

नेपालमा केरा उत्पादनको राम्रो सम्भावना भए तापनि माग पुरा गर्न नसकिने अवस्थाले गर्दा प्रत्येक वर्ष भारतबाट केरा आयात गर्नुपरेको व्यवसायीहरूले बताएका छन्। साथै, भारतबाट आउने केराको मूल्य नेपालमा उत्पादित केरा भन्दा सस्तो पर्ने भएकाले सीमावर्ती क्षेत्रमा भारतबाट आयात गर्न सजिलो हुने व्यवसायीहरूको भनाइ छ। जनकपुरसम्म एक ट्रक केरा ल्याउन झण्डै छ लाख खर्च लाग्ने र बजारमा प्रत्येक केराको घरी पाँच सयदेखि एक हजार रुपैयाँसम्मको मूल्यमा बिक्री हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?