नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा भाउ घटायो
2 महीना पहिले प्रकाशित
काठमाडौं, कार्तिक १६ गते । । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रूपैयाँले घटाउने निर्णय गरेको छ। बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी यो नयाँ मूल्य निर्धारण गरेको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा मूल्य घटाइएको जनाइएको छ।
नयाँ मूल्य सूचि अनुसार, डिजेल र मट्टीतेलको भाउ देशभरका विभिन्न ठाउँअनुसार फरक-फरक हुनेछ। निगमले मूल्य निर्धारणका लागि देशका विभिन्न क्षेत्रलाई तीन वर्गमा विभाजन गरेको छ। पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, र धनगढी क्षेत्रमा लिटरको १४७ रूपैयाँ ५० पैसा लाग्नेछ। दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङ क्षेत्रमा लिटरको १४९ रूपैयाँ हुनेछ भने तेस्रो वर्गअन्तर्गतका काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य लिटरको १५० रूपैयाँ तोकिएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयातका लागि आइओसीबाट प्रशोधित तेल खरिद गर्ने गर्छ। आइओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजारको कच्चा तेल मूल्यको आधारमा आफ्नो लागतमा प्रशोधन, ढुवानी खर्च र अन्य शुल्कहरू थपेर नेपालका लागि मूल्य तय गर्छ। त्यसपछि आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्दा लाग्ने भन्सार, प्रशासनिक खर्च, ढुवानी खर्च र डिलर कमिसन समेत थपेर उपभोक्ताका लागि खुद्रा मूल्य निर्धारण गर्ने प्रक्रिया अपनाउँछ। आइओसीको कच्चा तेलको मूल्य परिवर्तन नै पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा प्रमुख आधार मानिन्छ।
कमेन्ट गर्नुहोस्
view comments