हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार प्रारम्भ

2 महीना पहिले प्रकाशित

काठमाडौं, कार्तिक १३ गते । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार, जसलाई यमपञ्चक पनि भनिन्छ, आजदेखि विधिवत रूपमा सुरु भएको छ। यो पर्व कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने परम्परा अनुरूप आज बिहान ११:०१ बजे त्रयोदशी तिथि लागेपछि प्रारम्भ भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्रयोदशी तिथि सुरु भएको दिन धनतेरस अर्थात् धनत्रयोदशी मनाइन्छ। यस दिनमा यमदीपदान गरिन्छ, जसले यमलोकको यातनाबाट मुक्ति मिल्ने शास्त्रीय विश्वास रहेको छ। तिहारको पहिलो दिन काग तिहार तथा धनवन्तरी जयन्ती कात्तिक १४ गते परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन्।

यस वर्ष लक्ष्मीपूजा र कुकुर तिहार भने चतुर्दशी र औँसी तिथिको मिलनले एकैदिन परेको छ। कात्तिक १५ गते बिहीबार बिहान कुकुर तिहार मनाइन्छ भने बेलुकी लक्ष्मीपूजा गरिन्छ। यसै क्रममा गाईगोरुपूजा र आत्मपूजा (म्ह पूजा) कात्तिक १७ गते शनिबार परेको छ। तिहारको प्रमुख भाइटीका भने कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे शुभ साइतमा गरिने समितिले जनाएको छ। तिहारका विभिन्न दिनमा देउसी-भैलो खेल्ने र झिलीमिली बत्तीले सहरलाई झकिझकाउ बनाउने परम्पराले चाडको रौनक बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?