भारतीय नागरिक पक्राउ: स्रोत नखुलेको नेपाली ५ लाख सहित रौतहटमा पक्राउ

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १२ गते ।  रौतहट जिल्लामा प्रहरी गस्ती टोलीले स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भारत बिहार राज्यको मोतीहारी जिल्लाको ढाका थाना क्षेत्र, फूलवरीया गाउँ निवासी ४८ वर्षीय त्रिभुवन चौधरी हुन्।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार, चौधरीलाई आइतबार साँझ सीमावर्ती भारतीय बजार बैरगनियाबाट मोटरसाइकलमा गौर आउँदै गर्दा अस्थायी प्रहरी पोस्ट महादेव पट्टीको टोलीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा चौधरीको नाइलनको झोलाबाट ५ सय थानको नोटमा रहेको नेपाली ५ लाख रुपैयाँ बरामद भएको हो। उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?