रामजानकी विवाह महोत्सवको तयारीका लागि मधेश प्रदेशमा विशेष समिति गठन

2 महीना पहिले प्रकाशित

 

जनकपुरधाम, कार्तिक ९ गते । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी मङ्सिर २१ गते जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सवलाई भव्य, व्यवस्थित, र प्रभावकारी बनाउन पाँच सदस्यीय विशेष समिति गठन गरेको छ। शिक्षा तथा संस्कृति मन्त्री रानी शर्माको संयोजकत्वमा गठित यस समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिँह, खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जायसवाल, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँ सदस्य छन्। समितिले महोत्सवका तयारी योजना, आयोध्याबाट आउने जन्ती र श्रद्धालु भक्तजनका लागि वास व्यवस्थापनलगायतका कार्यहरूका सम्बन्धमा प्रतिवेदन पेश गर्नेछ।

त्रेतायुगमा रामचन्द्र र सीताको विवाह भएको सम्झनामा मङ्सिर शुक्ल पञ्चमीका दिन जनकपुरधाममा भव्य रूपमा रामजानकी विवाह महोत्सव मनाइन्छ। नगर दर्शन, फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवाजस्ता विधिविधानसहित साताव्यापी कार्यक्रम आयोजना गरिन्छ, जसमा देशविदेशबाट लाखौँ श्रद्धालु र साधुसन्त जनकपुरधाममा सहभागी हुने गर्छन्। प्रदेश सरकारले महोत्सवलाई व्यवस्थित र आकर्षक बनाउन आवास, भोजन, खानेपानी, शौचालय, स्वास्थ्य सेवा, विद्युत्, यातायात, र सुरक्षा व्यवस्थापनको विस्तृत विवरण तयार गर्न समितिलाई जिम्मा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?