सप्तरीको खाँडो–जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या, मितेरी पुलको माग

2 महीना पहिले प्रकाशित

 

जनकपुरधाम, कार्तिक ९ गते ।  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित खाँडो–जीता नदीमा पुल नहुँदा स्थानीय बासिन्दाहरूलाई आवतजावतमा समस्या भइरहेको छ। यस नाकाबाट दैनिक सयौँ स्थानीयवासी भारतीय बजार जान्छन्, जहाँ उनीहरूले उपभोग्य वस्तु खरिद गर्छन् र आफन्तसँग भेटघाट गर्छन्। अन्य समयमा नदीमा पानी कम हुँदा कुनै तरिकाले नदी तरेर आवतजावत गर्ने भए पनि वर्षायाममा जोखिम मोलेर हिँड्नुपर्ने अवस्था रहेको स्थानीय दिपेन्द्र यादवले बताए।

गत चार दशकदेखि यस क्षेत्रमा बाँसको चचरी पुल निर्माण गरिए पनि २०७८ सालमा भारतीय सुरक्षाकर्मीले यसलाई रोकिदिएका कारण अब त्यस्तो सुविधा पनि छैन। स्थानीय वडाध्यक्ष दिनेश्वर मिश्रले सङ्घीय सरकारले यस स्थानमा मितेरी पुल निर्माण गर्नुपर्ने बताउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन पुल निर्माण अत्यावश्यक रहेको धारणा राखे। पुल अभावका कारण वर्षायाममा मालबाहक र अन्य गाडीको आवतजावत रोकिँदा भन्सार राजस्वमा समेत प्रत्यक्ष असर पर्ने गरेको भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकास भगतले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?