तारे होटलमा प्लास्टिकजन्य बोतलमा प्रतिबन्ध
2 महीना पहिले प्रकाशित
काठमाडौं, कार्तिक ७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले चार तारे, पाँच तारे र डिलक्स होटलहरूमा प्लास्टिकजन्य बोतलहरूमा प्रतिबन्ध लगाएको छ। विभागले जारी गरेको विज्ञप्तिमा चार तारे र माथिल्ला स्तरका सबै होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोतलमा रहेका पेय पदार्थहरूको प्रयोग बन्द गर्न निर्देशन दिइएको उल्लेख छ। यो निर्णय होटल तथा रिसोर्टहरूमा पर्यावरणीय प्रभावको न्यूनिकरण गर्ने उद्देश्यले गरिएको हो, जसअनुसार अब यी प्रतिष्ठानहरूले काँचका बोतल वा धातुजन्य भाँडाहरू प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्नेछ।
पर्यटन विभागका महानिर्देशक डा. नारायण रेग्मीका अनुसार प्लास्टिकजन्य बोतलहरूको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा नकारात्मक असर पार्ने भएकाले यसको प्रयोगमा रोक लगाइएको हो। विभागले यो निर्देशन कार्यान्वयनका लागि होटल तथा रिसोर्टहरूलाई विशेष योजना बनाउन अनुरोध गरेको छ। खासगरी, चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरूले काँच र धातुको भाँडा प्रयोग गरी खानेपानी उपलब्ध गराउनुपर्ने व्यवस्था लागू गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments