जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण कार्तिक १० गते आयोजना हुँदै

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ४ गते ।  साङ्गीतिक पर्यटन प्रवर्द्धन गर्न तथा मिथिला क्षेत्रका लोपोन्मुख लोक संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याउने उद्देश्यले जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण कार्तिक १० गते तिरहुतिया गाछीमा आयोजना हुने भएको छ। भूमि फाउन्डेसनका अध्यक्ष रञ्जन झाले मिथिला क्षेत्रको गौरवमय सांस्कृतिक सम्पदालाई वृहत्त मञ्चमा उजागर गर्दै, आञ्चलिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिता रहेको उत्सवले मिथिला र मधेशको सांस्कृतिक पुनर्जागरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उत्सवमा लोक नाच, झाँकी, र ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने छ।

भूमि लोक उत्सवको दोस्रो संस्करणमा नेपाल र सीमाञ्चलका सांस्कृतिक विविधता झल्किने प्रस्तुतिहरू समावेश हुने र विशेष स्टलहरू राखिने छ। वरिष्ठ मैथिली लोक गायिका डा. रञ्जना झा, प्रख्यात गायिका झुमा लिम्बू, तथा मिथिला नाट्यकला परिषद् जस्ता प्रतिष्ठित समूहले उत्सवलाई जीवन्त बनाउनेछन्। अध्यक्ष झाले यस उत्सवले स्थानीय कलाकारहरूलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्न र युवा पुस्तालाई आफ्नो मौलिक सांस्कृतिक सम्पदाप्रति उत्साहित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?