बंगलादेश सरकारद्वारा स्वतन्त्रता दिवसका बिदा रद्द गर्ने निर्णय, शेख हसिनाको पार्टीको कडा विरोध

2 महीना पहिले प्रकाशित

काठमाडौँ , कार्तिक २ गते ।  बंगलादेशको वर्तमान सरकारले देशको स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित ८ वटा सरकारी बिदा रद्द गर्ने घोषणा गरेको छ। यो निर्णयले दुई महत्त्वपूर्ण मितिहरू, मार्च ७ र अगस्त १५, को बिदा पनि समेटेको छ, जसले बंगलादेशमा तीव्र विवाद खडा गरेको छ।

मार्च ७ को दिनलाई बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानले पाकिस्तानी सेनाको विरुद्ध सम्पूर्ण देशलाई एकजुट गर्न दिएको ऐतिहासिक भाषणको सम्झनामा स्वतन्त्रताको प्रतीकको रूपमा मनाइन्छ। त्यस्तै, अगस्त १५ मा शोक मनाइन्छ, जसमा सन् १९७५ मा शेख मुजिबुर रहमानको हत्या भएको थियो। यो दिन बंगलादेशमा शोकको रूपमा स्मरण गरिँदै आएको छ।

शेख हसिनाको पार्टी अवामी लिगले बिदा रद्द गर्ने निर्णयको कडा विरोध गर्दै यसलाई इतिहास मेट्न र पाकिस्तानको विचारधारा थोपर्न खोजिएको आरोप लगाएको छ। पार्टीले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै यो निर्णयलाई "गैरकानुनी सरकारद्वारा बंगलादेशको निर्माणको इतिहास नष्ट गर्न खोजिएको" भन्दै आलोचना गरेको छ।

यसैबीच, बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र अन्य ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। न्यायाधिकरणले उनीहरूलाई नोभेम्बर १८ सम्म अदालतमा पेश गर्न निर्देशन दिएको छ, जसले राजनीतिक तनावलाई थप चर्काएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?