झोलुङ्गे पुलको उद्घाटन: महमदपुरका स्थानीयले पाए यातायातको सहजता
2 महीना पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक १ गते । रौतहट जिल्लाको गरुडा नगरपालिका–५ महमदपुरस्थित झाँझ नदीमा निर्मित झोलुङ्गे पुलको बुधबार विधिवत रूपमा उद्घाटन गरिएको छ। गरुडाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले एक विशेष समारोहका बीच पुलको उद्घाटन गरेका हुन्। उक्त पुलले गरुडा र वृन्दावन नगरपालिकालाई जोड्ने काम गर्दै दुवै पालिकाका हजारौं नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने बताइएको छ। पुलको सञ्चालनले विशेषगरी स्थानीय किसान र बासिन्दालाई खेतीपातीमा सहजता मिलेको छ, जसले उनीहरूको दैनिक जीवनमा ठुलो परिवर्तन ल्याउनेछ।
५० लाख लागतमा निर्माण: नगर र प्रदेश सरकारको सहकार्य
मधेस प्रदेश सरकार र गरुडा नगरपालिकाको संयुक्त लगानीमा झाँझ नदीको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद मुस्ताख आलमका अनुसार, कुल ५० लाख रुपैयाँको लागतमा यो पुल निर्माण गरिएको हो। पुल उद्घाटन समारोहमा मेयर कन्थमणि प्रसाद जयसवाल, प्रमुख प्रशासकिय अधिकृत आलम, वडाध्यक्ष राम विनोद जयसवाललगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments