वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख राहत
काठमाडौं, असोज २२ गते । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले अब १० लाख रुपैयाँ राहत पाउने भएका छन्। असोज १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरेको हो। हालसम्म मृतक श्रमिकका परिवारलाई ७ लाख रुपैयाँ सहयोग दिइँदै आएकोमा अब यो रकम १० लाख पुर्याइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाका अनुसार यो निर्णयसँगै श्रमिकका परिवारले थप राहत पाउने व्यवस्था मिलाइएको छ।
यो आर्थिक सहायता वैदेशिक रोजगार बोर्ड मार्फत उपलब्ध गराइने छ। नियमावलीमा गरिएको संशोधनले मृतकका परिवारलाई रकम वृद्धि गरी नयाँ व्यवस्थाको अन्तर्गत १० लाख रुपैयाँ पाउने सुनिश्चितता दिएको छ। वैदेशिक रोजगारीमा श्रमिकको मृत्यु भएमा, नजिकका हकवालाले मृत्यु भएको प्रमाणसहित एक वर्षभित्र बोर्डमा निवेदन दिनुपर्नेछ। त्यस्तै, काम गर्ने क्रममा अङ्गभङ्ग भएमा ७ लाख रुपैयाँसम्मको सहायता प्रदान गरिने छ, र शव नेपाल झिकाउन तथा घरसम्म पुर्याउनसमेत बोर्डले आर्थिक सहायता गर्दै आएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोषमा अनिवार्य रूपमा रकम जम्मा गर्नुपर्ने प्रावधान राखिएको छ। खाडी र मलेसियामा जाने श्रमिकले १५०० रुपैयाँ र जापान, कोरिया, इजरायल जस्ता मुलुकमा जानेहरूले २५०० रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। तीन वर्षसम्मको करार अवधि भएका श्रमिकले १५०० रुपैयाँ र त्यसभन्दा बढी अवधि भएमा २५०० रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने कानुनी प्रावधानले आर्थिक सहायता रकमको आधारशिला बनाएको छ, जसले गर्दा श्रमिक परिवारहरूलाई आवश्यक सहयोग प्रदान गर्न सहज भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments