आज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, असोज २२ गते । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहररूबाट हुने बिध्न–बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएकाे धार्मिक वचन छ ।

 हाम्रो अगाडि घटित हुनै सबै घटनालाई हामी प्रपञ्च नामले चिन्दछौं । यो ब्रह्माण्डमा भएका सबै वस्तुहरु हामीले देख्न सकिने स्वभावको हुँदैन । जुन कुरा हामी देख्न सक्दैनौं, इन्द्रीयहरुले अनुभव गर्न सक्दैनौं र हाम्रो कल्पनाभन्दा धेरै बाहिर विशाल स्वरुपको छ । त्यो अदृश्य जगतको शासनसत्ता यिनै कात्यायनी देवीले चलाउने विश्वास गरिन्छ । कात्यायनीको हामीले देख्ने स्वरुप सोही अदृष्य जगतलाई जनाउने सूचक हो । त्यसैले कात्यायनीलाई दिव्यताको अतिगुप्त रहस्यहरुको प्रतीक मान्ने गरिन्छ ।

क्रोध पनि कुनै समय सकारात्मक बलको प्रतीक हुन्छ । कुनै समय यही क्रोध नकारात्मक आसुरी शक्तिको प्रतीक बन्ने गर्दछ । यी दुईमा एकदमै गहिरो भेद पाईन्छ । क्रोध केवल नकारात्मक गुण या शक्ति होईन । सकारात्मकताका साथ देखिएको क्रोध बुद्धिमत्तासँग जोडिएको हुन्छ । सकारात्मक क्रोध एक प्रौढ बुद्धिबाट उत्पन्न हुन्छ । क्रोध यदि अज्ञान र अन्यायकोप्रति छ भने यसले सकारात्मकतालाई सञ्चार गराउने गर्दछ । अतः यहि सकारात्मक क्रोध जुन अज्ञान र अन्यायकोप्रति रहेको हुन्छ । त्यो नै देवी कात्यायनीको विशेषता हो ।

हामीले समय समयमा प्राकृतिक प्रकोपको सामना गर्ने गरेका छौं । ती सबै प्राकृतिक बिपत्तिहरुको सम्बन्ध कात्यायनी देवीसँग जोडिएको हुन्छ । उनी क्रोधको त्यो रुपकी प्रतीक हुन् । जो सृष्टिमा सृजनता, सत्य र धर्मको स्थापना गर्दछिन् । दिव्य कात्यायनी रूपले यो सूक्ष्म जगतमा नकारात्मकताको विनाश गरेर धर्मको स्थापना गर्न मद्दत गर्दछ । भनिन्छ, ज्ञानीको क्रोध पनि हितकर र उपयोगी हुन्छ । जबकि अज्ञानीको प्रेम समेत हानिप्रद हुनसक्छ । यसप्रकार देवी कात्यायनी क्रोधकी त्यो रुप हुन् । जसले सबै प्रकारको नकारात्मकतालाई समाप्त गरेर सकारात्मक ऊर्जाको सञ्चार गर्दछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?