जनकपुर झिझिया महोत्सवको दोश्रो संस्करण बुधवार हुने

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, असोज २१ गते । जनकपुरमा सांस्कृतिक नृत्य झिझिया महोत्सवको दोश्रो संस्करण आयोजना हुने भएको छ ।नव मिथिला फाउन्डेसनको आयोजनामा आउंदो बुधवार झिझिया महोत्सव हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई पछ्याउँदै झिझिया आयोजना गर्न लागेको फाउन्डेसनका अध्यक्ष अमित कुमारले बताए ।


आज आयोजित पत्रकार सम्मेलनमा आयोजकले गाउ गाउका झिझिया टोली सँगै यस पटक दुइ स्थानीय विद्यालयका छात्राहरु समेतको झिझिया नृत्य प्रस्तुत हुने जनाएका छन । पहिलोपटक पाँच सय जना टाउकोमा घैँटा राखेर झिझियाको गीतमा नाच्ने छन् ।
जनकपुरस्थित रेल्वे स्टेसनको प्राङ्गणमा हुने महोत्सवमा मैथिली पारम्परिक झिझिया लोक गान र नृत्यलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजन हुन लागेको संस्थाका उपाध्यक्ष आदित्य नेपालले बताए ।


कार्यक्रममा स्थानीय लोक गायकहरूको समेत सहभागी रहनेछन । ललित कामतको एक्कल लोकगीत गायन हुने सँगै स्थानीय युवा कलाकारहरुको एक टोली जनकपुरियन बैंडलाई झिझिया महोत्सवमा पहिलो पटक प्रस्तुति गराउन लागिएको हो ।
फाउन्डेसनले विगत पाँच वर्षदेखि जनकपुर साहित्य महोत्सव आयोजना गर्दै आएको छ । ‘झिझिया लोप हुँदै गएको छ । यसको जगेर्ना हाम्रो जिम्मेवारी हो,’ उपाध्यक्ष नेपालले भने, ‘झिझियाको महत्त्व र औचित्य नयाँ पुस्ताले पनि बुझोस् भन्ने ध्येयले अब प्रत्येक वर्ष झिझिया महोत्सव गर्छौँ ।’ यो दोश्रो संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?