देवी मन्दिरमा श्रद्धालुहरूको भीड, शक्तिपीठमा दर्शकहरूको ओइरो
जनकपुरधाम, असोज १८ गते । नवरात्रको अवधिभर मधेस प्रदेशका दुर्गा मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ। जनकपुरधामको राजदेवी मन्दिर, लहानको दुर्गा मन्दिर, सप्तरीको छिन्नमस्ता मन्दिरजस्ता प्रमुख शक्तिपीठहरूमा श्रद्धालुहरू बिहानदेखि पूजा गरी देवीसँग परिवारको सुखशान्ति र मनोकांक्षा पूरा होस् भनी प्रार्थना गर्छन्। मन्दिरहरूको व्यवस्थापन व्यक्तिगत, सामुदायिक तथा पूजा समितिहरूले गर्दै आएका छन्, जसले श्रद्धालुहरूको सहजता सुनिश्चित गर्न सक्रियता देखाएका छन्।
महिलाहरू बिहान र साँझ मन्दिरमा पूजा गर्नको लागि विशेष चहलपहल देखाउने गर्छन्। लहानको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर र रौतहटको राजदेवी मन्दिरजस्ता स्थानहरूमा देवीलाई भाकल गर्ने परम्परा कायम रहेको छ। यहाँ भाकल पूरा भएपछि बलि चढाउने चलन समेत छ। सप्तरीको छिन्नमस्ता मन्दिर र महोत्तरीको सोनामाई मन्दिरमा तान्त्रिक मान्यताअनुसार भूतप्रेतमुक्तिका लागि दसैँमा विशेष पूजा तथा भूतमेला लाग्ने गर्दछ। यहाँ नेपाली तथा भारतीय श्रद्धालुहरू मनोकामना पूर्तिका लागि हरेक वर्ष मन्दिरहरूमा ओइरिन्छन्।बारा जिल्लाको गढीमाई मन्दिरमा पाँच–पाँच वर्षमा हुने विशेष मेलासँगै, दसैँको बेला पनि ठूलो उत्सव मनाइन्छ। यहाँ बडादसैँको बेला हजारौँ संख्यामा नेपाली तथा भारतीय भक्तजन दर्शन गर्न आउने गर्छन्। वीरगन्जको गहवामाई मन्दिरमा पनि घटस्थापनादेखि अष्टमीसम्म विशेष पूजा, मेला, तथा बलि चढाउने प्रचलनले यस क्षेत्रलाई आस्थाको केन्द्र बनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments