अविरल वर्षाले देशभर सडक अवरुद्ध: दसैँ यात्रा प्रभावित, यातायात व्यवसायी अन्योलमा
3 महीना पहिले प्रकाशित
काठमाडौँ, १३ असोज । अविरल वर्षाका कारण बिहीबारदेखि बाढी र पहिरोले देशभरका मुख्य र साना सडकहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, र बिपी राजमार्ग लगायतका मुख्य सडकहरू आइतबार बिहानसम्म पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीको विवरण अनुसार, बागमती प्रदेशमा काठमाडौँसहित ३० स्थान, कोशीमा ६, गण्डकीमा ५, लुम्बिनीमा ८, र कर्णालीमा १ स्थानमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। दसैँ नजिकिँदै गर्दा यी सडकहरू कसरी छिटो मर्मत गर्ने भन्ने चिन्ता थपिएको छ।
यता, शनिबारदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भइसकेको छ। तर, लगातारको वर्षाका कारण सडकहरू अवरुद्ध भइरहँदा यातायात व्यवसायीहरूले टिकट बिक्री गर्ने कि नगर्ने भन्ने अन्योलता छ। यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, यात्रुहरू वर्षातमा छाता ओढेर टिकट काटिरहेका छन्, तर यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पु-याउन सकिन्छ कि सकिँदैन भन्ने निश्चितता छैन।
सरकारसँग भएको २० बुँदे सहमति अनुसार अग्रिम टिकट बुकिङ खुलाइएको भए पनि, पहिलो बुँदामा सडक मर्मत र खाल्डाखुल्डी पुरिने उल्लेख भएको थियो। तर, हाल ठाउँठाउँमा पहिरोले सडक अवरुद्ध भएपछि यातायातको अवस्था अझै स्पष्ट छैन।
सडक विभागका सूचना अधिकारी अमित कुमार शर्माले अवरोध भएका सडक र राजमार्ग तत्काल खुलाउन नसकिने बताए। मन्त्रालयसँग छलफल गरेर योजना बनाएर मात्रै सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए। दसैँ यात्रुहरूलाई गन्तव्यमा पु-याउन मार्ग खुलाउने कामलाई प्राथमिकता दिइने आश्वासन पनि दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments