नारायणीमाथिको झोलुङ्गे पुल सुस्तामा सञ्चालन: राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक परियोजनाको उद्घाटन

3 महीना पहिले प्रकाशित

काठमाडौं, असोज १० गते । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ, जसको उद्घाटन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन्। यो पुलले झण्डै ६० वर्षपछि सुस्ताका स्थानीयवासीहरूको लामो प्रतीक्षालाई समाप्त गरेको छ।

राष्ट्रपति पौडेललाई सुस्तामा स्वागत गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यस ऐतिहासिक परियोजनामा राष्ट्रपति पौडेलको उपस्थिति महत्वपूर्ण रहेको बताए। राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनमा पुलले सुस्ता वडा नम्बर ५ का दायाँ किनारमा रहेको सकरदिनही र बायाँ किनारमा रहेको सुस्ता गाउँलाई प्रत्यक्ष रूपमा जोड्ने बताए।

यो पुल १,५७१ मिटर लामो र १.६० मिटर चौडाइको छ, जसको निर्माण कार्य त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सले साढे २३ करोड रुपैयाँको लागतमा सम्पन्न गरेको हो। पुलको निर्माण कार्य २०७२ साल असोजमा सुरू भई २०७५ साल पुसमा सम्पन्न हुने योजना थियो, तर निर्माणको प्रक्रिया पटक-पटक ढिलाइ भई ६ वर्षपछि मात्र सम्पन्न भएको हो।

पुल उद्घाटनसँगै राष्ट्रपति पौडेलले एकीकृत राष्ट्रिय विद्युत् प्रशारण लाइनको शुभारम्भ पनि गरे, जसले सुस्तामा विद्युत् आपूर्तिमा नयाँ युगको थालनी गरेको छ। नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका वडा नम्बर ५ मा करिब पाँच किलोमिटर लामो ११ केभी लाइन निर्माण गरी यो उपलब्धि हासिल गरेको हो।

कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का लगायतका उच्च पदाधिकारीहरूको उपस्थिति थियो। सुस्ताका तीन सय ५० घरधुरीका ३,२०० भन्दा बढी जनसंख्यालाई यस पुलले यातायातका साथै सहज विद्युतीय सुविधा उपलब्ध गराउनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?