धनुषा प्रहरी हिरासतबाट फरार भएका सबै ९ थुनुवा पुनः पक्राउ

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, असोज ८ गते । धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतबाट फरार भएका सबै थुनुवा पक्राउ परेका छन्। मधेश प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाबाट परिचालित प्रहरी टोलीले ९ जना फरार थुनुवालाई नियन्त्रणमा लिएको छ। प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार, सोमबार बिहान करिब साढे ३ बजे हिरासत कक्षको भेन्टिलेसन फुटाएर फरार भएका ती ९ थुनुवामध्ये दुई जनालाई तत्कालै पक्राउ गरिएको थियो भने थप पाँच जना सोमबार दिउँसो धनुषाको लखौरीबाट पक्राउ गरिए। बाँकी रहेका फरार विशाल मुखिया र मनिस मुखियालाई सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको छ।

सिराहा नगरपालिका-१३ का ३३ वर्षीय अभास्करकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका-२१, रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका-७, गिद्धाबेलापट्टीका २६ वर्षीय मनिस मण्डल, २४ वर्षीय रोशनकुमार मण्डल, धनुषाको औरही गाउँपालिका-२ का २३ वर्षीय विशाल मुखिया, जनकपुरधाम उपमहानगरपालिका-१ का १७ वर्षीय सुमित मेस्तर, नगराइन नगरपालिका-२ का १८ वर्षीय मनिस मण्डल र जनकपुरधाम-४ का २२ वर्षीय विक्की कार्की फरार भएका थिए। तीमध्ये ६ जना लागूऔषध मुद्दामा र तीन जना शान्ति सुरक्षा तथा अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका थिए।

यस घटनालाई गम्भीर लापर्बाहीको रूपमा लिंदै, मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। प्रहरी प्रमुख डीआईजी लालमणि अचार्यले वरिष्ठ प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङको नेतृत्वमा उक्त समिति गठन गरेका हुन्। यसैगरी, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायब उपरीक्षक रञ्जन अवाको नेतृत्वमा अर्को छानबिन समिति गठन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?