संविधान दिवसको अवसरमा भोलिदेखि धरहरा अस्थायी रूपमा सर्वसाधारणका लागि खुला
काठमाडौं, असोज २ गते । संविधान दिवसको अवसर पारेर भोलि असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सर्वसाधारणका लागि खुला गरिने भएको छ। भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार धरहरा सर्वसाधारणको लागि अस्थायी रूपमा खुला गर्न लागिएको हो।
वि.सं. १८८२ मा प्रधानमन्त्री भीमसेन थापाले निर्माण गरेको धरहरा १९९० को भूकम्पले माथिका दुई तला भत्किएपछि ९ तलाको मात्र बाँकी रहेको थियो। २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले पूर्ण रूपमा नष्ट गरेको धरहरा पुनर्निर्माणका लागि २०७५ सालमा सरकारले रमन कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो। पुनर्निर्माणपछि, यसअघि ९ तलाको धरहरा अब २२ तला बनाइएको छ, जसमा लिफ्ट सुविधा पनि थपिएको छ।
२०७८ वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे पनि निर्माण सम्पन्न नभएका कारण धरहरा सञ्चालनमा आउन सकेको थिएन। अब केही निर्माण कार्य बाँकी रहे पनि अस्थायी रूपमा धरहरा सर्वसाधारणको लागि खोल्न लागिएको छ।
शहरी विकास मन्त्रालयले धरहरा सञ्चालनको जिम्मेवारी पाएको छ। भोलिदेखि सर्वसाधारणले नि:शुल्क धरहरा चढ्न पाउने छन्। शहरी विकास मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्य कुँवरका अनुसार प्रारम्भमा धरहरा चढ्न शुल्क नलिइने भए पनि केही समयपछि शुल्क निर्धारण गरेर सञ्चालन गर्ने योजना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments