आज भगवान् विश्वकर्माको पूजा आराधना गरी भव्य रूपमा मनाइदै
3 महीना पहिले प्रकाशित
काठमाडौं ,असोज १ गते । आज नेपालभर कालीगढले भगवान् विश्वकर्माको पूजा आराधना गरी भव्य रूपमा वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। हरेक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानाहरूमा विशेष रूपमा सुसज्जित गरी विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिवत् पूजा गर्ने परम्परा रहेको छ। यस अवसरमा मजदुरहरूले समेत सहभागिता जनाउँदै आफ्ना कार्यस्थलहरूलाई सुसज्जित गरेर पूजा सम्पन्न गर्छन्।
पूजा गरिएका बालुवाबाट बनेका मूर्तिहरूलाई वाग्मतीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर विसर्जन गरिन्छ। यस पर्वमा विशेष रूपमा कालीगढहरूले आफ्नो काममा प्रयोग हुने औजारहरूमा पूजा गर्दा ती औजारहरू दीर्घकालसम्म टिक्ने, राम्रोसँग काम गर्ने र सधैं उपयोगी रहने धार्मिक विश्वास छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरूबाट जोगाउन विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको धार्मिक मान्यता छ। उक्त घटना पश्चात् विश्वकर्मालाई एक सफल वास्तुविद्का रूपमा पूजा गर्ने परम्परा प्रारम्भ भएको हो।
वास्तुशास्त्री शिव पोखरेलले विश्वकर्मालाई वास्तु शास्त्रका विशिष्ट ज्ञाता मानी ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्र ग्रन्थको रचना गरेको विश्वास रहेको जानकारी दिए। यसै परम्पराको सम्मानस्वरूप, नेपालका कालीगढहरूले आज विश्वकर्माको पूजा गरी उनीहरूको ज्ञान र विद्वताको सम्मान गर्छन्।
अन्ततः, नेपालमा पछिल्लो समय वास्तु विद्याको महत्त्व पुनः बढ्दै गएको छ। स्थापत्य वेदमा आधारित सहर र आवास निर्माणको प्रचलन वृद्धि भएकोले वास्तु दिवसको महत्त्व पनि बढ्दै गएको वास्तुशास्त्री पोखरेलले बताए। यसै अवसरमा, आज नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालयमा वास्तु शास्त्रसम्बन्धी विशेष प्रवचन तथा छलफल कार्यक्रम आयोजना गरिएको छ, जहाँ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारीहरूको उपस्थिति रहनेछ।
कमेन्ट गर्नुहोस्
view comments