महिला पत्रकारको सहभागिता प्रवर्द्धन गर्न मिडिया एड्भोकेसी ग्रुपद्वारा जनकपुरधाममा क्षमता अभिवृद्धि कार्यक्रम
4 महीना पहिले प्रकाशित
जनकपुरधाम, भदौ २८। राजनीतिक तथा परराष्ट्र मामिला रिपोर्टिङमा महिला पत्रकारहरूको सहभागिता बढाउन मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले जनकपुरधाममा एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रम महिला पत्रकारहरूको राजनीतिक तथा परराष्ट्र मामिलामा कम सहभागिता रहेको पृष्ठभूमिमा आयोजित गरिएको हो।
कार्यक्रममा सहभागी महिला पत्रकारहरूले अवसरको कमी र आवश्यक ज्ञानको अभावका कारण राजनीति तथा परराष्ट्र मामिलामा चासो कम रहेको अनुभव साटे। उनीहरूले पत्रकारितामा पूर्णकालीन रुपमा काम गर्न नसक्दा र आर्थिक सुरक्षाको अभावले यस क्षेत्रमा गहिरो रुपमा काम गर्न कठिनाइ भइरहेको बताए।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले कार्यक्रममा राजनीतिक र परराष्ट्र मामिलामा महिला पत्रकारहरूको योगदान र सहभागिताबारे चर्चा गर्दै संसदीय रिपोर्टिङ र स्रोत व्यवस्थापनबारे जानकारी दिनुभयो। म्यागका कार्यकारी निर्देशक बविता बस्नेतले महिला पत्रकारहरूले रिपोर्टिङका क्रममा अपनाउनुपर्ने सुरक्षा उपायहरूबारे महत्त्वपूर्ण जानकारी गराइन्।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पत्रकारितामा साहित्य, राजनीति र समाजका मुद्दाहरूलाई समेटेर काम गर्न सके अब्बल पत्रकारिता हुने विचार व्यक्त गर्नुभयो। मधेश प्रदेशका आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादले मधेशका महिला पत्रकारहरूको सिप वृद्धि गर्न चरणबद्ध कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाले लेखन क्षमतामा सुधार गरे काम र दामको अभाव नहुने भन्दै महिला पत्रकारहरूलाई लेखनमा थप सक्रिय हुन आग्रह गरिन्।कार्यक्रमा पत्रकार महासंघका केन्द्रीय सदस्य गायत्री मिश्रालगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
view comments