मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा मुसहर बस्तीमा अवलोकन, बालबालिकालाई विद्यालय पठाउन आग्रह
4 महीना पहिले प्रकाशित
जनकपुरधाम, भदौ १२ गते । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले मङ्गलबार साँझ धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको मुसहर बस्तीमा पुगेर स्थानीय बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्नुभएको छ। मुख्यमन्त्री सिंहले प्रत्येक महिना दलित बस्तीहरूमा अवलोकन गर्दै शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, र विकास निर्माणका समस्या छलफल गर्ने कार्यतालिकाअनुसार मुसहर बस्तीको अवलोकन गर्नुभएको हो। यस क्रममा उहाँले बस्तीका महिला, बालबालिका, युवा र वृद्धहरूसँग अन्तरक्रिया गरी उनीहरूको समस्या सुन्नुभयो र बालबच्चाको पढाइ, स्वास्थ्योपचार, सरसफाइ, तथा आयआर्जनबारे जानकारी लिनुभयो।
मुख्यमन्त्री सिंहले संघीयताका कारण दलित महिलाको स्थानीय तहमा प्रतिनिधित्व सम्भव भएको बताउँदै सबै समुदायले वर्तमान व्यवस्थालाई संस्थागत गर्ने जिम्मेवारीको महत्त्व उल्लेख गर्नुभयो। मुसहर समुदायका धेरै पुरुष जीविकोपार्जनका लागि भारत जाने गरेको र अधिकांश महिला कृषिसम्बन्धी श्रममा संलग्न हुने गरेको जानकारी दिँदै, महिलाहरूले पुरुषहरूमा रहेको जाँडरक्सीको लतको गुनासो समेत गर्नुभयो। मुख्यमन्त्रीले समुदाय स्तरबाटै समस्या समाधानका लागि पहल हुनुपर्नेमा जोड दिनुभयो र मुसहर बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न राज्य र समुदाय दुवैको पहल आवश्यक भएको बताउनुभयो। उहाँले बालबालिकालाई घरको काममा नलगाएर विद्यालय पठाउन आग्रह गर्दै शिक्षामा लगानीले समुदायको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभयो।
कमेन्ट गर्नुहोस्
view comments