सप्तरीमा शीतभण्डार निर्माण अधुरो: किसानहरूको उत्पादन खेर जाने संकट
8 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ ९ गते । सप्तरीमा शीतभण्डार निर्माण कार्य अधुरै रहेपछि स्थानीय किसानहरू मारमा परेका छन्। २०७५ पुसमा राजविराज नगरपालिका-१५, देउरी भरुवामा ३,००० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण कार्य सुरु भए पनि बजेट अभावका कारण २०७८ सालदेखि निर्माण कार्य रोकिएको छ। करीब २८ करोड लागतको यस परियोजनाका लागि संघीय सरकारले ६ करोड ३६ लाख रुपैयाँ उपलब्ध गराएको भए पनि बाँकी १० करोड ७५ लाख रकम उपलब्ध नहुँदा निर्माण कार्य थाँती रहेको जिल्ला सहकारी संघ सप्तरीका प्रबन्धक रमेशप्रसाद गुप्ताले जानकारी दिएका छन्। यसका कारण हरेक वर्ष किसानहरूले उत्पादन गरेको तरकारी र फलफूल खेर जानु परेको छ। शीतभण्डार निर्माणमा संघीय सरकारको ६० प्रतिशत, संघ संस्थाहरूको २० प्रतिशत, र स्थानीय तथा प्रदेश सरकारको २० प्रतिशत अनुदानले सहयोग गरिने योजना थियो। तर बजेट अभावले निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न सकेको छैन। प्रबन्धक गुप्ताले मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/८२ मा आठ करोड बजेट विनियोजन गरेको भए पनि हालसम्म रकम प्राप्त नभएको बताए। शीतभण्डार अभावले किसानहरूले उत्पादन सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ, भने बेमौसममा महँगोमा तरकारी र फलफूल किन्नुपर्ने अवस्था छ। यसले गर्दा किसानहरूले आफ्नो उत्पादन सुरक्षित भण्डारण गरी थप लाभ लिन सक्ने अवस्था बन्न सकेको छैन।
कमेन्ट गर्नुहोस्
view comments