लोडसेडिङ अन्त्यपछि नेपालमा विद्युत् खपत तीन गुणा वृद्धि: प्राधिकरण

4 महीना पहिले प्रकाशित

काठमाडौं , भदौ ९ गते ।  नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्यपछि मुलुकमा विद्युत् खपत तीन गुणा बढेको जनाएको छ। आर्थिक वर्ष २०७२/०७३ मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत वर्ष २०८०/०८१ मा १० अर्ब २ करोड युनिट पुगेको छ, जसले आठ वर्षमा ६ अर्ब ५१ करोड युनिटको वृद्धि देखाउँछ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरन्तर विद्युत् आपूर्ति र उद्योग तथा घरायसी प्रयोजनमा विद्युतीय उपकरणहरूको प्रयोगले विद्युत् खपत बढेको बताए। गत आवमा ४ अर्ब ३१ करोड युनिट घरायसी र ३ अर्ब ६९ करोड युनिट औद्योगिक क्षेत्रले खपत गरेका छन्। आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत ४०० युनिटमा पुगेको छ। विद्युत् उत्पादन वृद्धि, आयात घटाउने, र निर्यात बढाउने लक्ष्यका साथ काम भइरहेको घिसिङले बताए। गत आवमा भारतबाट १ अर्ब ९० करोड युनिट विद्युत् आयात गरिए पनि, १ अर्ब ९५ करोड युनिट निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी भएको थियो। यसबाट नेपाल खुद विद्युत् आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?