सन्तोष लोक्सम बने ‘रियलमी मिस्टर नेपाल २०२४’ विजेता
4 महीना पहिले प्रकाशित
काठमाडौं , भदौ ९ गते । झापाका सन्तोष लोक्सम ‘रियलमी मिस्टर नेपाल २०२४’ को उपाधि जित्न सफल भएका छन्। शनिबार राति सोल्टीमोडस्थित होटल सोल्टीमा आयोजित अन्तिम प्रतिस्पर्धामा सन्तोषले शीर्ष स्थान हासिल गर्दै ट्रफी उचालेका हुन्। उपाधि जितेसँगै उनी ‘मिस्टर नेपाल वर्ल्ड २०२४’ मा पनि चयन भएका छन्, जसअन्तर्गत उनी नोभेम्बर महिनामा भियतनाममा आयोजना हुने ‘मिस्टर वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन्। साथै, सन्तोषलाई एन्ट फाउन्डेसनले सोसल एम्बेसडरका रूपमा समेत पुरस्कृत गरेको छ, र उनले ५ लाख रुपैयाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ ‘मिस्टर ग्लोबल नेपाल २०२४’ र काठमाडौंका आयुष दुलाल ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ को उपाधि जित्न सफल भएका छन्। योगेशले अक्टोबरमा थाइल्यान्डमा आयोजना हुने ‘मिस्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् भने आयुषले ‘म्यान अफ द वर्ल्ड २०२४’ मा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन्। उनीहरूसँगै धरानका आदेश प्रधानले फस्ट रनर अप र हेटौंडाका आयुष बमजनले सेकेन्ड रनर अपको स्थान हासिल गरेका छन्। विभिन्न विधागत अवार्डहरूमा पनि प्रतियोगीहरू सम्मानित भएका छन्, जसमा रियलमी मोस्ट पपुलर, पब्लिक च्वाइस, वेष्ट पर्सनालिटी, मिस्टर फाटोजेनिक, मोस्ट इन्टिलेक्चुयल लगायतका अवार्डहरू वितरण गरिएका थिए।
कमेन्ट गर्नुहोस्
view comments