६ वर्षमा श्रम अडिट कार्यान्वयनमा ९ गुणा वृद्धि: रोजगारदाताहरूको सङ्ख्या ४६९ बाट ४१३९ पुग्यो
5 महीना पहिले प्रकाशित
काठमाडौं, भदौ ६ गते । श्रम अडिट मापदण्ड कार्यान्वयन गर्ने रोजगारदाताको सङ्ख्या पछिल्लो ६ वर्षमा करिब ९ गुणाले वृद्धि भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा श्रम अडिट गरिएका रोजगारदाता (प्रतिष्ठान) को सङ्ख्या ४६९ थियो, जुन आर्थिक वर्ष २०८०/८१ मा बढेर चार हजार १३९ पुगेको छ। विभागका निर्देशक मणिनाथ गोपका अनुसार, श्रम ऐन र नियमावलीको प्रावधान अनुसार प्रतिष्ठानलाई श्रमिकप्रति दायित्वबोध गराउन ‘श्रम अडिट मापदण्ड २०७५’ जारी गरिएपछि श्रम अडिट प्रतिवेदन पेश गर्ने प्रतिष्ठानहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ।
उदाहरणस्वरूप, आर्थिक वर्ष २०७९/८० मा तीन हजार ४२३ रोजगारदाताले श्रम अडिट गराएका थिए, जबकि २०७८/७९ मा यो सङ्ख्या दुई हजार ९१९ र २०७७/७८ मा दुई हजार ३१३ थियो। श्रम अडिटको बढ्दो सङ्ख्याले औद्योगिक प्रतिष्ठानहरूले श्रमसम्बन्धी नीतिगत एवं कानुनी व्यवस्थाहरूको परिपालनामा सुधार ल्याएको संकेत गरेको गोपले बताएका छन्। श्रम नियमावली २०७५ को नियम ५६ अनुसार, प्रत्येक प्रतिष्ठानले हरेक वर्ष पुस मसान्तभित्र श्रम अडिट गराउनुपर्ने प्रावधान रहेको छ।
कमेन्ट गर्नुहोस्
view comments