टिकटक प्रतिबन्ध हटाउन सरकारको तयारी, चिनियाँ पक्षको दबाबले पुनर्विचार
5 महीना पहिले प्रकाशित
काठमाडौं,,भदौ ४ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरिरहेको छ। चिनियाँ पक्षबाट बारम्बार टिकटक प्रतिबन्धबारे प्रश्न उठेपछि सरकारले यसबारे पुनर्विचार गरी प्रतिबन्ध खोल्न गृहकार्य थालेको हो। २३ कात्तिक २०८० मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सञ्जाल नियमिन निर्देशिका जारी गरेको थियो, जसअनुसार सामाजिक सञ्जालहरूले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने व्यवस्था गरिएको थियो।
त्यसपछि २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको आरोपमा मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। यो निर्णयअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेसहितका प्रमुख दलहरूसँग परामर्श गरेका थिए, जसले प्रतिबन्धलाई मौन समर्थन जनाएका थिए। टिकटकले नेपालका सबै कानुन र शर्तहरू मान्ने लिखित प्रतिबद्धता जनाउँदै प्रतिबन्ध हटाउन माग गर्दै आएको छ। प्रतिबन्ध नहटाएपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले विभिन्न राजनीतिक भेटवार्तामा टिकटक प्रतिबन्धबारे चासो व्यक्त गर्दै आएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक प्रतिबन्ध हटाउन आवश्यक गृहकार्य गर्न निर्देशन दिएका छन्। ओलीले सञ्चार मन्त्रालय र आफ्नो टिमलाई टिकटकको प्रतिबद्धताबारे छलफल गरी प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्न भनेको स्रोतको दाबी छ।
कमेन्ट गर्नुहोस्
view comments