काठमाडौँ,भदौ ४ । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य अवरोध उत्पन्न भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम र कम दृश्यता (भिजिबिलिटी) का कारण पोखरा र भरतपुर गन्तव्यका उडानहरू प्रभावित भएका छन्।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडानहरूमा केही अस्थायी अवरोध भए पनि अन्तर्राष्ट्रिय उडानहरू नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिएका छन्। उनले भने, "मौसम खराबीका कारण दृश्यता कमजोर छ, जसका कारण पोखरा र भरतपुरका उडानहरू सम्भव भएका छैनन्। अन्य पहाडी क्षेत्रका विमानस्थलहरूमा पनि उडानहरू सामान्यतया प्रभावित भएका छन्।"
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार पोखरा र भरतपुरमा अहिलेसम्म कुनै पनि उडान सम्पन्न भएको छैन। वर्षा कम भएपछि दृश्यता सुधार हुने र केहीबेरमा उडान सुरू हुने अपेक्षा गरिएको उनले जनाए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू भने नियमित रूपमा जारी रहेको विमानस्थल कार्यालयले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुले असर पुर्याइरहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित भएकाले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ।
देशका सबै प्रदेशका केही क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments