बंगलादेशका दुई नागरिकले विराटनगरबाट नेपाल प्रवेशको असफल प्रयास, भारत फिर्ता गरियो

9 महीना पहिले प्रकाशित

विराटनगर,साउन २९ गते ।  बंगलादेशका दुई नागरिकले विराटनगर नाकाबाट नेपाल प्रवेश गर्ने असफल प्रयास गरेका छन्। मंगलबार भारतको जोगबनी हुँदै विराटनगर प्रवेश गर्न खोज्ने एक पुरुष र एक महिलालाई भारततर्फ नै फिर्ता पठाइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बंगलादेशको गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजा उल र ६३ वर्षीया जायदा बेगमलाई फिर्ता पठाइएको हो। कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार भारतीय नागरिकको समूहमा मिसिएर नेपाल प्रवेश गर्ने क्रममा उनीहरूलाई सीमास्थित ढाट नम्बर १ बाट फिर्ता पठाएको हो।

बस्नेतले भने, ‘मंगलबार दिउँसो करिब पौने १ बजेतिर उनीहरूलाई सोधपुछ गरी भारततर्फ फिर्ता पठाएका हौँ। जसमा पुरूष करिम मोहम्मद रिजा उल र महिला जायदा बेगम रहेका छन्। प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट बंगलादेशको राहदानी फेला परेको थियो। केही दिनअघि पनि एक जना पुरूषलाई ढाटबाटै फिर्ता पठाएका थियौँ।’ सीमा क्षेत्रबाट अवैध रूपमा प्रवेश हुन सक्ने हुँदा नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरिएको उनले बताए। नेपाल प्रवेश गर्न खोज्दा यसअघि साउन २२ गते बंगलादेशको टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई प्रहरीले फिर्ता पठाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?