कानुन मन्त्री चौरसियाद्वारा वीरगन्जका दुई अदालतहरूको स्थलगत निरीक्षण

10 महीना पहिले प्रकाशित

वीरगन्ज,साउन २७ गते ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले आइतबार पर्साका दुई अदालतहरूको स्थलगत अवलोकन गरेका छन्। गृह जिल्ला पुगेका मन्त्री चौरसियाले जिल्ला अदालत वीरगन्ज र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जको स्थलगत अवलोकन गरेका हुन्। अदालतमा भौतिक संरचना र कर्मचारीहरूको अभावलगायतका समस्या रहेका गुनासोपछि मन्त्री चौरसियाले बिहानै दुवै अदालतको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा जिल्ला अदालत र अस्थायी इजलास वीरगन्जका प्रमुख न्यायाधीशहरूले अदालतको भौतिक संरचना जीर्ण रहेको जानकारी दिए।
जिल्ला अदालत पर्साका न्यायाधीश दीपक खनालले मन्त्री चौरसियालाई पर्सा जिल्ला अदालतको भौतिक संरचना अत्यन्तै जीर्ण भएको जानकारी दिँदै सबै संरचनाको स्थलगत अवलोकन गराएका थिए। यस्तै, अस्थायी इजलास वीरगन्जका प्रमुख न्यायाधीश डा. रत्नबहादुर बागचन्दले पनि अस्थायी इजलास वीरगन्जमा भौतिक संरचनाको अभाव र कर्मचारीको कमी रहेको जानकारी गराउँदै, यसले जनताको काममा असर परिरहेको बताए र कर्मचारी थपिदिन माग गरेका थिए। न्यायाधीश बागचन्दले मन्त्री चौरसियालाई कानुन संशोधनमार्फत अस्थायी इजलासलाई स्थायी बनाउन भूमिका खेल्न आग्रह गरेका थिए। दुवै अदालतको निरीक्षणपछि मन्त्री चौरसियाले जिल्ला अदालत र उच्च अदालतमा धेरै समस्या रहेको पुष्टि भएको बताए। उनले भने, "जिल्ला अदालत र अस्थायी उच्च अदालत वीरगन्जमा भवन र कर्मचारीको अभावजस्ता गम्भीर समस्याहरू छन्। म यस समस्याप्रति संवेदनशील छु र सरकारको तर्फबाट यी अदालतहरूका लागि आवश्यक सबै काम गर्नेछु। कर्मचारी अभावको समस्या चाँडै समाधान गर्न पहल गर्नेछु।"
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?