बालिकालाई अपहरण गरेर लग्दै गरेका बाबा पक्राउ

11 महीना पहिले प्रकाशित

जेठ २२ गते । महोत्तरी प्रहरीले ६ वर्षीया बालिकालाई अपहरण गरेर लग्दै गरेका एक बाबालाई सर्लाहीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौशाला नगरपालिका- १० बस्ने बाबा भनिने लालबावु खत्वे मण्डल रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारका अनुसार आइतबार सोनमा गाउँपालिकाबाट हराएकी बालिकालाई सोमबार सर्लाहीको ईश्वरपुर नगरपालिका ५ खुलाल टोलबाट उद्धार गरिएको हो।

आइतबार राति करिब १२ बजेको समयमा ६ वर्षीया बालिका हराएको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय, महोत्तरी तथा मातहतको प्रहरी इकाइहरूबाट प्रहरी उपरीक्षक नकुल पोखरेलको कमाण्डमा खटेको टोलीले सोमबार बिहान करिब ११ बजे बालिकालाई सकुशल उद्धार गरेका हुन्।

बाबा भनिने लाल बावु खत्वे मण्डल विगत ३ महिना देखि सोनमा गाउँपालिका खेसरामा बस्दै आएकोमा बालिकाको हजुरबुवाको घरमा पनि कहिलेकाहीं आश्रय लिई बस्ने गरेको तथा बालिकासँग घुलमिल भएका बाबाले करिब ३ बजे बालिकालाई आफूसँग लिई गएको प्रत्यक्षदर्शीले बताएका थिए।

पक्राउ परेका बाबालाई इलाका प्रहरी कार्यालय, गौशालामा ल्याई बालिकाको स्वास्थ्य परीक्षण गराई परिवारजनको जिम्मा लगाइएको र बाबामाथि आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?