रक्सौल नाकाको दशगजा क्षेत्रमै एसएसबीको चेकपोस्ट स्थापन
2 वर्ष पहिले प्रकाशित

वीरगन्ज,असोज ३ गते ।नेपाल भारत सीमाको दशगजा क्षेत्रमै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अस्थायी चेकपोस्ट स्थापना गरेको छ। वीरगन्ज-रक्सौलको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमै एसएसबीले चेक पोस्ट राखेको हो।
नेपालको मुख्य प्रवेशद्वारका रूपमा समेत परिचित वीरगन्ज-रक्सौल नाकाको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा एसएसबीले बुधबार बिहानदेखि चेक पोस्ट स्थापना गरेको हो।
चेक पोस्टमा खटिएका एसएसबी जवानहरूले दुवै तर्फबाट आवतजावत गरिरहेका सवारीसाधनलाई चेकजाँच गरिरहेका छन्। यस नाकाबाट दिनहुँ हजारौंको संख्यामा मान्छेहरू पैदल तथा गाडीमा व्यावसायिक, धार्मिक र पारिवारिक कामले नेपाल-भारत आउजाउ गर्छन्।एसएसबीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्माले चेक पोस्ट स्थापना गर्दा एसएसबीले अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेको दाबी गरे। उनले चेक पोस्ट पनि भारतीय भूमिमै रहेको बताए।
उनले भने, ‘दुवै देशको सुरक्षा, मानव तस्करी र चोरी पैठारी नियन्त्रण गर्ने उद्देश्यले चेक पोस्टको स्थापना भएको हो। यसको कुनै पनि राजनीतिक अथवा कूटनीतिक उद्देश्य छैन।’
इन्स्पेक्टर शर्माले एसएसबीको केन्द्रीय सर्कुलर अनुसार रक्सौल-वीरगन्ज नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनका लागि पनि पोस्ट स्थापना गरिएको जानकारी दिए।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले भने मितेरी पुल नेपाल र भारत दुवै भएको बताउँदै स्थापित चेक पोस्ट भारतीय भूमिमै रहेको प्रस्ट पारे। उनले चाडपर्वलाई लक्षित गरेर एसएसबीले अस्थायी रूपमा चेक पोस्ट स्थापना गरेको बताए। सहायक सीडीओ लम्सालले पनि यस नाकाबाट आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउन पनि एसएसबीले पोस्ट स्थापना गरेको बताए।
त्यस्तै सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगन्जका प्रमुख एवम् प्रहरी उपरीक्षक किशन कर्माचार्यले पनि सीडीओ लम्सालकै कुरालाई दोहोर्याए। उनले पनि चेक पोस्ट भारतीय भूमिमै रहेको बताए।
यद्यपि भारतीय सुरक्षा एजेन्सीहरूले दशगजा क्षेत्रमा कुनै पनि किसिमको चेक पोस्ट स्थापना गर्न नपाउने विज्ञहरूले बताएका छन्। अन्तर्राष्ट्रिय सन्धिअनुसार विशेष परिस्थिति बाहेक अन्य समयमा चेकपोस्ट राख्न नपाइने उनीहरूको भनाइ छ।
कमेन्ट गर्नुहोस्
view comments