बंगलादेशको नयाँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित

11 घन्टा पहिले प्रकाशित

एजेन्सी, भाद्र ५ गते ।  बंगलादेशको संसद्ले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीरलाई देशको नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको छ।

करिब ३५ वर्षपछि बंगलादेशमा राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको बताइएको छ। आलमगीरले २५५ मत प्राप्त गर्दै २३औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत प्राप्त गरे।

आलमगीर सत्तारूढ बीएनपीका वरिष्ठ नेता हुन्। उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख राजनीतिक विरोधीमध्ये एक रहँदै आएका छन्। सन् २०२४ को विद्यार्थी आन्दोलनपछि हसिना सत्ताबाट हटेकी थिइन् र अहिले भारतमा बस्दै आएकी छन्। बंगलादेशले भारतसँग उनको प्रत्यर्पणको माग गर्दै आएको छ।

आलमगीरले कठिन राजनीतिक परिस्थितिमा बीएनपीलाई नेतृत्व गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। राजनीतिक गतिविधिका क्रममा उनलाई विभिन्न समयमा पक्राउसमेत गरिएको थियो।

बंगलादेशमा राष्ट्रपतिको पद परम्परागत रूपमा औपचारिक मानिन्छ। तर प्रस्तावित राजनीतिक सुधारअनुसार राष्ट्रपतिलाई थप अधिकार प्रदान गर्ने विषयमा छलफल भइरहेको छ। यस्तो सुधार कार्यान्वयन भए राष्ट्रपतिले देशका प्रमुख राजनीतिक शक्तिबीच शक्ति सन्तुलन कायम गर्न थप भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?