कच्ची दरगाह–बिदुपुर सिक्सलेन पुल निर्माण सम्पन्न, उद्घाटनको तयारी

2 घन्टा पहिले प्रकाशित

एजेन्सी, भाद्र ४ गते । पटना र वैशालीलाई जोड्ने करिब १९.७५ किलोमिटर लामो कच्ची दरगाह–बिदुपुर सिक्सलेन गंगा पुलको निर्माण सम्पन्न भएको छ। करिब ४ हजार ९ सय करोड रुपैयाँ लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएपछि पटना–वैशाली आवागमन सहज हुने अपेक्षा गरिएको छ।

पुल सञ्चालनमा आएपछि निजी सवारीसाधनबाट पटना–वैशाली यात्रा करिब २० देखि २५ मिनेटमा गर्न सकिने जनाइएको छ। यससँगै वैशाली, समस्तीपुर, दरभङ्गालगायत उत्तर बिहारका विभिन्न जिल्लाबाट पटनासँगको सडक सम्पर्क थप सहज हुनेछ।

नयाँ पुल सञ्चालनमा आएपछि महात्मा गान्धी सेतुमाथिको सवारी चापसमेत कम हुने अपेक्षा गरिएको छ। यसले पटना तथा उत्तर र दक्षिण बिहारबीचको यातायात व्यवस्थामा सुधार ल्याउने विश्वास गरिएको छ।

यसैबीच, पटना महानगर क्षेत्रमा निर्माण भइरहेको मीठापुर–महुली एलिभेटेड सडकको पहिलो चरणको काम पनि सम्पन्न भएको छ। सिपारादेखि महुलीसम्मको करिब ६.७ किलोमिटर सडक निर्माण भएको छ, जसमा करिब ५.४ किलोमिटर भाग एलिभेटेड रहेको छ।

राज्य सरकारले कच्ची दरगाह–बिदुपुर पुल र मीठापुर–महुली एलिभेटेड सडकको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीबाट गराउने तयारी गरिरहेको बताइएको छ। यद्यपि, उद्घाटनको औपचारिक मिति भने सार्वजनिक गरिएको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?