ट्रम्पको दाबी– होर्मुज जलडमरूमध्य ‘नयाँ अमेरिकी भूभाग’, इरानद्वारा अस्वीकार
5 घन्टा पहिले प्रकाशित
एजेन्सी, भाद्र ३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई ‘अमेरिकाको नयाँ भूभाग’ भन्दै दाबी गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत होर्मुज जलडमरूमध्यलाई घेरेर ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको नक्सासमेत सार्वजनिक गरेका हुन्।
यसअघि न्यूयोर्कमा आयोजित कार्यक्रममा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरेपछि होर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने योजना रहेको बताएका थिए। इरानले भने उक्त दाबी अस्वीकार गर्दै जलडमरूमध्यमा आफ्नो नियन्त्रण कायम रहेको जनाएको छ। इरानी अधिकारीहरूले युद्ध र नाकाबन्दी अन्त्य, रोक्का गरिएका सम्पत्ति फिर्ता तथा क्षेत्रीय युद्धविरामका विषयमा सहमति नभएसम्म होर्मुज बन्द रहने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय होर्मुज जलडमरूमध्यमा अमेरिका र इरानबीच नियन्त्रणको संघर्ष तीव्र बनेको छ। जहाजको आवागमनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्ला दुई सातामा ८० प्रतिशतभन्दा बढी व्यावसायिक जहाज ओमानतर्फको सामुद्रिक मार्गबाट आवतजावत गरेका छन्। यसअघि उक्त मार्गबाट व्यावसायिक जहाजको आवागमन नगण्य थियो।
ट्रम्पले होर्मुजमाथि ‘पूर्ण नियन्त्रण’ कायम गरेको दाबी गरे पनि विश्लेषकहरूले जलडमरूमध्यमा न इरानको पूर्ण नियन्त्रण रहेको न अमेरिकाको पूर्ण नियन्त्रण रहेको बताएका छन्। यसैबीच, ओमान र इरानले अमेरिकी सहभागिताबिना होर्मुजमा सामुद्रिक आवागमन पुनःस्थापित गर्ने विषयमा वार्ता गरिरहेका छन्।
कमेन्ट गर्नुहोस्
view comments