मधुबनीमा १०८ मिटर लामो मिथिला चित्रकला, बन्यो विश्व कीर्तिमान

2 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण ३१ गते । भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा मधुबनीमा मिथिलाको समृद्ध कला, संस्कृति र परम्परालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले मिथिला चित्रकला तथा ई–वाणिज्य पोर्टलको शुभारम्भ गरिएको छ। कार्यक्रममा रामचरितमानसमा आधारित १०८ मिटर लामो विशाल मिथिला चित्रकला मुख्य आकर्षण बनेको थियो। चित्रकलामा रामायणको सम्पूर्ण गाथालाई मिथिला चित्रकलाको परम्परागत शैलीमा प्रस्तुत गरिएको छ।

मिथिला चित्रकला संस्थानका करिब १८० जना वर्तमान तथा पूर्वविद्यार्थीले चार दिन लगाएर उक्त विशाल चित्रकला तयार गरेका हुन्। रामायणका प्रमुख प्रसङ्गलाई परम्परागत रङ, रेखा, प्रतीक र चित्रांकन शैलीमार्फत प्रस्तुत गरिएको छ भने चित्रमा रामचरितमानसका श्लोक तथा दोहासमेत समावेश गरिएको छ। यसले दृश्य कला, साहित्य, आध्यात्मिक परम्परा र मिथिलाको लोकसंस्कृतिलाई एकै ठाउँमा जोडेको छ।

यस ऐतिहासिक कलाकृतिको निर्माणमा पद्मश्री प्राप्त कलाकार बौआ देवी, दुलारी देवी र शिवन पासवानसहितका कलाकारले विद्यार्थीलाई मार्गदर्शन गरेका थिए। १०८ मिटर लामो चित्रकलालाई वर्ल्ड रेकर्ड युनियनका प्रतिनिधि क्रिस्टोफरको उपस्थितिमा प्रमाणीकरण गरिएको जनाइएको छ। प्रतिनिधिले मधुबनीका जिल्ला पदाधिकारीलाई विश्व कीर्तिमानको प्रमाणपत्र तथा पदक प्रदान गरेका छन्। हाल उक्त कलाकृति मिथिला ललित कला संग्रहालयमा प्रदर्शनमा राखिएको छ।

कार्यक्रममा जनता दल युनाइटेडका राज्यसभा सांसद सञ्जयकुमार झाले मिथिला चित्रकला यस क्षेत्रको सांस्कृतिक पहिचान र लोकजीवनको जीवन्त अभिव्यक्ति भएको बताए। उनले शुभारम्भ गरिएको ई–वाणिज्य पोर्टलले मिथिला चित्रकलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन र बिचौलियाको भूमिका घटाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?