बिहारकी मन्त्री श्रेयसी सिंहको जिब्रो चिप्लियो, महात्मा गान्धीलाई ‘राष्ट्रपति’ भनेपछि चर्चा
2 घन्टा पहिले प्रकाशित
एजेन्सी, श्रावण ३१ गते । बिहारमा स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा राज्य सरकारकी खेल तथा उद्योगमन्त्री एवं सीतामढी जिल्लाकी प्रभारी श्रेयसी सिंहको सम्बोधन सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। डुमरा परेड मैदानमा झण्डोत्तोलनपछि सम्बोधन गर्ने क्रममा उनले महात्मा गान्धीलाई ‘राष्ट्रपिता’को सट्टा ‘राष्ट्रपति’ भनेपछि उनको भनाइलाई लिएर चर्चा सुरु भएको हो।
सम्बोधनकै क्रममा स्वतन्त्रता आन्दोलनका अर्का प्रमुख नेता जयप्रकाश नारायणको नाम उच्चारण गर्दा पनि मन्त्री सिंहको जिब्रो चिप्लिएको थियो। उनले जयप्रकाश नारायणलाई ‘लोकनायक जनप्रकाश’ भनेकी थिइन्। महात्मा गान्धी र जयप्रकाश नारायणको नाम उच्चारणमा भएको दुवै त्रुटिको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। कार्यक्रममा प्रशासनिक अधिकारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सरकारी कर्मचारी तथा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments