सावन में बाबा बैद्यनाथ धाम दर्शन अब हेलिकप्टरबाट, ४ अगस्टदेखि सुरु हुँदैछ आकाशीय यात्रा सेवा
11 घन्टा पहिले प्रकाशित
एजेन्सी, श्रावण १८ गते । सावन महिनामा बाबा बैद्यनाथ धाम दर्शन गर्न आउने देश–विदेशका श्रद्धालुको सुविधाका लागि झारखण्ड सरकारले हेलिकप्टर परिदर्शन सेवा सुरु गर्ने भएको छ । आगामी ४ अगस्टदेखि सुरु हुने यस सेवामार्फत श्रद्धालुले बाबा बैद्यनाथ धामसँगै बाबा बासुकीनाथ र त्रिकूट पर्वतको समेत आकाशीय दर्शन गर्न सक्नेछन् ।
झारखण्ड फ्लाइङ इन्स्टिच्युटले यसका लागि बुकिङ सुरु गरिसकेको छ । बाबा बैद्यनाथ धामको ७ देखि १० मिनेटको हेलिकप्टर दर्शनका लागि २ हजार ८५० रुपैयाँ शुल्क तोकिएको छ । यस्तै, बासुकीनाथ दर्शनका लागि पनि २ हजार ८५० रुपैयाँ, देवघरदेखि त्रिकूट पर्वत दर्शनका लागि ३ हजार ७५० रुपैयाँ र देवघरदेखि बासुकीनाथ एकतर्फी १५ मिनेटको उडानका लागि ४ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
सावन महिनामा बाबा बैद्यनाथ धाममा लाखौँ श्रद्धालु पुग्ने भएकाले प्रशासनले सुरक्षा, सरसफाइ र व्यवस्थापनमा विशेष तयारी गरेको छ । मेला क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीसीटीभीमार्फत निगरानी भइरहेको छ । श्रद्धालुको सुविधाका लागि मोबाइल शौचालय, फोहोर व्यवस्थापन, सरसफाइ उपकरण, फगिङ तथा सहायता केन्द्रको व्यवस्था गरिएको छ ।
राजकीय श्रावणी मेला २०२६ मा लाखौँ भक्तजन आउने अनुमान गरिएको छ । भीड व्यवस्थापनका लागि देवघर मेला क्षेत्रमा ३४ वटा सूचना तथा सहायता केन्द्र सञ्चालन गरिएको छ, जसले हराएका श्रद्धालुलाई परिवारसँग पुनर्मिलन गराउन र आवश्यक सूचना उपलब्ध गराउन सहयोग गरिरहेका छन् । मेला क्षेत्रमा सरसफाइ नियम उल्लङ्घन गर्ने होटल तथा रेस्टुरेन्टमाथि समेत कारबाही सुरु गरिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments